अज्ञानतालाई हटाइदिने ‘नारदमुनी’
नेपालगञ्ज – केही दशक पहिले सलमान रसदी नामका लेखकले एउटा पुस्तक लेखेका थिए, ‘satanic verses’ । यो पुस्तक लेखेपछि उनलाई उनकै कट्टरपन्थीहरुबाट अनेक प्रकारका धम्कीहरु आयो भनेर बिबिसी लगायतका अनेकौँ समाचार माध्यमले प्रशारण गरेका थिए । त्यसको लगत्तै बंगलादेशकी लेखिका तस्लीमा नसरीनले ‘लज्जा’ नामको पुस्तक लेखिन् । उनको पनि रसदीकै हाल भएको थियो । उनले अन्ततः भारतमा शरण लिनु परेको थियो । केही वर्षअघि अमेरिकामा भगवान वुद्धको फोटो जुत्तामा छापेका थिए । त्यसको पनि केही विरोध भएको थियो । यदपी माथिका द्वयले जस्तो विरोध सामना गर्नु परेन अर्थात वुद्धवारे उग्र विरोध भएन ।
तर वैदिक सनातन संस्कृतिको भने कुरो भिन्न छ । हिन्दु धर्मको जसले पनि जति सके खिल्ली उडाउने गरेका छन् । अन्य धर्मावलम्वी, सम्प्रदायी मात्रै होइन, स्वयम हिन्दुहरु पनि आफ्नो धर्मको र यसका परम श्रद्धेय अवतारहरु जस्तै श्रीकृष्ण, शिव, नारद, राम, सीता माता, द्रोपदी आदीका बारेमा नकारात्मक कुरा गरेको पाइन्छ । यी अवतारबारे अर्धज्ञानीहरुले विना अध्ययन जे पनि बोलेका हुन्छन् । हिन्दुहरुले त झन् ईश्वरवारे खिल्ली उडाएर आफुलाई महान क्रान्तिकारी भन्ने सावित गर्न खोज्छन् । उनीहरुले यसरी आफ्नो आङ कन्याएर आफ्नै छारो उडाउनु अघि आफ्ना धर्म ग्रन्थ कम्तीमा एक पल्ट पल्टाएर पढ्न मेरो आग्रह छ ।
यसरी उपहासको पात्र बनाइने अवतारहरुमा ऋषि नारद सर्वाधिक अग्र पंक्तिमा छन् । हिन्दी सिनेमादेखि टेलिभिजनका पर्दामा समेत टुप्पी ठाडो बनाइएका, आँखा चम्काउँदै नारायण नारायण भन्दै यताका कुरा उता, उताका कुरा यता गर्ने । कुरा राम्ररी नबुझ्ने अनि भगवान विष्णुले उनलाई अनेक रुपमा अनुभुत गर्न लगाएका कुरा सधै विम्वित गरिएको हुन्छ । यस्तो लाग्छ उनी सत्य युगका हास्य कलाकार वा उपहासका पात्र थिए । मान्छेहरुले आफ्नो छोराको नाम नारद राख्न समेत असहज मान्ने गर्छन् । अब प्रश्न उठ्छ को थिए ती सत्य युगका ब्यक्ति ’नारद’ ? जसलाई एउटा उपहास र परिहासको रुपमा चित्रित गर्ने गरिन्छ ।
नादरलाई श्रृष्टिकर्ता ब्रम्हका मानसपुत्र हुन भनिन्छ । अर्थात इच्छ शक्तिवाट उत्पन्न गरिएका पुत्र । अब प्रश्न उठ्छ इच्छा शक्तिबाट उनको श्रृष्टि भयो वा उनी अन्य ग्रह, जुन पृथ्वी भन्दा धेरै विकसित छ, वाट ब्रम्हजीद्वारा आमन्त्रण गरिएका थिए । वा पुराणहरुका उल्लेख गरे जस्तै उनी साँच्चिकै इच्छा शक्तिबाट जन्मिएका थिए ।
नारद शव्दको अर्थ पनि विलक्षण छ । ‘नरस्येदं नारं नारं द्यति इति नारद’ अर्थात जसले अज्ञानलाई टुक्रा टुक्रा पारेर नाशगरी प्रेमानन्द अर्थात चरम रुपको ईश्वर भक्ति प्रदान गर्छ त्यसलाई नारद भनिन्छ । नारदले तात्कालिन अवस्थामा नारायणका साथै अन्यका महत्वपूर्ण सूचना सम्प्रेषण गरेर एउटा महत्वपूर्ण पत्रकारको भूमिका पनि निर्वाह गरेका थिए । नारायणको विरुद्ध गएर अधर्म फैलाउनेहरुको अर्थात आजको परिभाषा अनुसार आतंक फैलाउनेहरुको दमनगर्न पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । सवैभन्दा गहन र महत्वपूर्ण कुरा उनीे एक महान धुरन्धर विद्वान अनि महान दार्शनिक थिए । आजीवन ब्रम्हचर्यमा रहेर नारायण भक्तिका साथै भक्ति दर्शनलाई कर्म दर्शनवाट प्रथक गरेर भक्ति दर्शनमा स्पष्टता र सरलीकरण गरेका थिए । उनी भन्दा पहिले ऋषि शाण्डिल्यले ‘शाण्डिल्य भक्ति दर्शन’ लेखेका थिए भने आंगिरस अर्थात अंगिरा ऋषिले ‘मध्य मिमांसा दर्शन’ लेखेका थिए । यसलाई देवी मिमांसा पनि भनिन्छ । तर अंगिराको मध्य मिमांसा पनि दर्शन कम लोकप्रिय छ भने शाण्डिव्यको भक्ति दर्शन यति कठीन छ कि तात्कालिन अवस्थाका प्रकाण्ड विद्धानहरुको पनि वोधको पहुँच भन्दा टाढा थियो । जब प्रकाण्ड विद्धानहरुले समेत बुझ्न अत्यन्त कठिन छ भने जन साधारणको वोधको स्तर त्यति उच्च कोटीको हुने प्रश्न नै उठ्दैन । त्यसको साथैे शाण्डिल्य र अंगिराको दर्शनमा कर्म, ज्ञान र भक्ति दर्शनहरु एउटैमा मिसिएको थियो । यसको ठीक विपरीत नारदद्वारा रचित भक्ति दर्शन अत्यन्त सरल, सहज र बोध गम्य छ ।
नारदले सर्वप्रथम ‘नारद स्मृतिको’ रचना गरे । जसमा कर्मकाण्डको निरुपण गरेका छन् । त्यसपछि ‘नारद पाञ्चरात्रको’ रचना गरे । जसमा कर्म र उपासनाबारे लेखे । तर उनी सन्तुष्ट भएनन् । उनीले ईश्वर प्राप्ती ज्ञान र कर्मको माध्यमबाट हुन नसक्ने ठाने । अर्थात ज्ञान मार्गबाट ईश्वरवारे ज्ञान हुन्छ तर ईश्वर प्राप्ती हँुदैन । त्यसैगरी कर्म मार्गवाट दायित्व निर्वाह अवश्य हुन्छ तर परब्रम्ह, परमानन्दको प्राप्ती हुन कठिन छ । तसर्थ अन्तमा उनले चौरासी सुत्रिय भक्तिलाई ज्ञान र कर्मबाट पृथक गरेर ‘भक्ति दर्शनको’ रचना गरे । त्यो पनि अत्यन्त सरल रुपमा ताकि सर्ववोधमय होस् । उनले ईश्वरलाई प्राप्त गर्न पूजा–आजा, व्रत, दान, यज्ञ तप केहीवाट सकिन्न । बरु भाववाट ईश्वर प्राप्त गर्न र अनुभुत गर्न सकिन्छ भनेका छन् । व्रहमलाई मालिकको रुपमा, छोराको रुपमा, साथीको रुपमा वा प्रेमीको रुपमा जुनसुकै रुपमा हामी प्रेम गर्न सक्छौ । उसलाई केवल भावनाको खाँचो छ । अर्थात प्रेममा सरोवर भएर जीवले ब्रम्हको अनुभुत अर्थात प्राप्ती गर्न सक्छ, प्रेममानन्द प्राप्ती गर्न सक्छ ।
औपचारिकता र कर्मकाण्ड अर्थात पूजा र यज्ञका विधिविधानसित उसको टाढा टाढासम्म कुनै सरोकार छैन । ब्रम्हलाई जसले अन्तरमनले प्रेम गर्छ, ईश्वर पुनः उसको दास वन्न रुचाँउछन् । यस प्रेमानन्दको अवस्थामा ईश्वर र भक्त विचको दुरी र भेद समाप्त हुने कुरो उनले आफ्नो भक्ति दर्शनमा लेखेका छन् । उनको अनुसार ईश्वरप्रति प्रेमको पराकाष्ठा नै ईश्वर भक्ति हो । उनी भन्छन् ‘भक्ति भक्त भगवतं गुरु चतुर्नाम वपु एका’ ईश्वर प्रेमको पराकाष्ठा नै अमृत हो यल्लब्ध्वा पुमान सिद्धो भवति अमृतो भवति तृप्तो भवति अर्थात ‘भक्तिमा भगवान, भगवानमा भक्ति, भक्तमा भक्ति, भक्तिमा भक्त, भगवानमा भक्त, भक्तमा भगवान’ यी सवै एक आपसमै घुलीमिली रहन्छन् ।
यस प्रकार हामी भन्न सक्छौँ कि उनी एक महान भक्त र महान दार्शनिक थिए । उनलाई उपहासको पात्र वनाएर हामीले आफ्नै आदर्श ब्यक्तिको बारेमा जानकारी नराखेर मुर्खता प्रदर्शन गर्ने गरेका रहेछौ ।