वीपीले देखेको समाजवाद

सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्थान भएर यो त विचारको उत्पादन पो हो त । तर हाम्रो देशमा विभिन्न कारणले सामाजिक संरचना यतिबेला लगभग भंग अवस्थामा पुगेको छ ।
यति लेख्दै गर्दा मलाई विश्वेश्वरप्रसाद कोइराला (बिपी) को सम्झना आउँछ । त्यो किन आउँछ भने मेरो पुस्ताले भौतिक रूपमा त देख्न पाएनौं तर, सामाजिक संरचनामा उनको विचारलाई हामीले पढ्यौं । रेकर्डअनुसार नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री भए बिपी । मितिका हिसाबले आज उनै बिपी कोइरालाको १०७ औं जन्मजयन्ती हो ।
बिपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीति हाम्रो समाजको मियो थियो कुनै कालखण्डमा । अहिले मेलमिलापको विषय समाजबाट धेरै पर धकेलिएको महसुस हुन्छ । यतिबेला फेरि बिपीको विचार खड्किएको आभाष हुन्छ । यसो हुनु फेरि अहिलेको समाजको उपज हो ।
बिपी कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनको दिमागी संरचनामा जन्मेका विचार थिए । ती विचारहरूले उनको उच्चकोटीको दिमागी संरचनालाई प्रतिबिम्वित गर्छ ।
लेभी स्ट्रसले भनेका छन् कि ‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रूपमा लिन सक्नुपर्छ ।’ हो बिपीमा उति नै बेला समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो । लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री थिए ।
अस्तित्ववादी नेता कोइराला भावनाशून्य विचारका पक्षपाती भने थिएनन् । कोइरालाका लिखित दस्तावेज केलाउने हो भने यो सहजै बुझ्न सकिन्छ ।
बाँच्नका लागि दर्शन आवश्यक पर्छ भन्ने मान्यता राख्ने कोइरालाले मर्नका लागि दर्शनको कुनै उपयोगिता नरहने विचार अघि सारेका थिए ।
त्यही विश्वाससाथ राजनीतिलाई जीवनको अभिन्न पाटोका रूपमा अघि बढाए ।
समाजवादी विचारका एक प्रणेता थिए कोइराला । लामो समय भारतमा निर्वासन जीवन बिताएका कोइराला त्यहाँ अंग्रेजविरूद्धको भारत छोडो आन्दोलनमा समेत सक्रिय रहे । त्यही पृष्ठभूमिले उनलाई प्रजातन्त्र स्थापननका लागि बल पनि मिल्यो । तर उनको समाजवादी उचाइका अगाडि कतिपय भारतीय नेतृत्व इष्र्या पनि गर्दथ्यो ।
नेपालमा चलिरहेको जहानियाँ राणा शासनविरूद्ध उनको भूमिका एउटा सुनौलो इतिहास बनेर दर्ज छ । प्रजातन्त्रको स्थापनाका लागि जनस्तरबाट क्रान्ति आवश्यक भएको ठहरसहित कोइराला अघि बढेका थिए । तर क्रान्ति गर्दा हिंसाको बाटो सजिलो हुने भए पनि कोइराला हिंसाको बाटो अंगालेर क्रान्ति नगर्ने मान्यता अघि सार्दथे ।
राजनीतिक बन्दीका रूपमा लामो समय जेल जीवन बिताएका कोइरालाको लेखनमा सिग्मन्ड फ्रायडको प्रभाव झल्किन्छ । बिपी कोइरालाले नेपाली समाजका लागि देखेको सपना समाजवाद थियो ।
फ्रायडको पुस्तक ‘इन्टरप्रेटेसन अफ ड्रिम’मा भनिएको छ कि ‘हाम्रो अतृप्त इच्छाको प्रतिबिम्व नै सपना हो ।’ हो बिपी कोइरालाले पनि नेपाली समाजका लागि देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद ।
फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तै उस्तै थियो । हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नुपर्ने अवस्था आएको थियो । यता राणा र राजाहरूको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नुपर्यो । लक्ष्य फरक फरक र परिवेश अलग भए पनि फ्रायड र कोइरालाबीच केही समानता पाएँ मैले । जीवनको उत्तरार्धमा दुवै क्यान्सरपीडित पनि थिए ।
मैले बिपी कोइरालाले लेखेको कतै पढेको थिएँ ‘राजनीति चारैतिरबाट बन्द हुन्छ, तर कला चारैतर्फ खुला ।’ निर्वासनका दौरान सायद यो अनुभूति आयो होला भन्ने म अनुमान लगाउँछु । भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरू बाट पनि थिचोमिचो सहनुपर्दा उनमा यो विचार आयो होला । त्यसैले उनले जीवनको अर्को बाटो पनि पहिल्याए । त्यो थियो साहित्य ।
मलाई फेरि कतै पढेको सम्झना आयो कोइराला सानै उमेरदेखि पश्चिमाजगतका पुस्तक खुबै रूचिका साथ पढ्ने गर्थे भन्ने कुरा । अध्ययनले नै मानिसको व्यक्तित्वलाई निखार्छ भनेको साँच्चिकै हो भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन् कोइराला ।
बिपी कोइरालाका साहित्यिक कृतिहरू श्वेत भैरवी, नरेन्द्र दाई, सुम्निमा, तीन घुम्ती, दोषी चश्मा, जेल जर्नल र आत्मकथा चर्चित छन् । तर उनको हिन्दी लघु कथा ‘वहाँ’ मा गज्जबको सरलता छ । प्रेमचन्द जो हिन्दुस्तानका चर्चित व्यक्तित्व हुन्, उनकै पत्रिका हंसमा कोइरालाको लघु कथा हिन्दी भाषामा पहिलो पटक प्रकाशित भयो। यता शारदा पत्रिकामा प्रकाशन भएको पहिलो रचना ‘चन्द्रवदन’ थियो ।
तर विडम्वना नै लेख्नुपर्छ कोइराला संस्थापक रहेको नेपाली कांग्रेस यतिबेला गन्तव्यविहीन पार्टीझैं मुर्झाउनुपरेको छ । नेपालमा प्रजातन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जननायक कोइरालासहितका मूर्धन्य व्यक्तित्वहरू को योगदानमा खुलेको देशकै पुरानो राजनीतिक दल यतिबेला नेपाली समाजको ऐना बन्न सकिरहेको छैन ।
एउटा मानिसले उस्को संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्ने गर्दछ । मैले पनि बिपी कोइरालालाई त्यही आधारमा बुझ्ने प्रयास गरें। आशा गरौं, उनै कोइरालाले देखेको समाजवादको सपना कुनै दिन अवश्य पूरा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !