ठेक्का तोडाउन दौडधुप
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय, नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आइतबार प्राधिकरण कार्यालय नेपालगञ्ज पुगेको डेलिगेशन टोलीले यस्तो ध्यानाकर्षण गराएको हो ।
साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा÷गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म काम अलपत्र अवस्थामा रहेको छ । ठेक्काको म्याद गुज्रिएपनि प्राधिकरणले यी ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाइन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गतवर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो ।
विगतमा प्रशारण लाइनको ठेक्का तोडेपनि प्राधिकरणले अहिले साविक बैजापुर गाविस (हाल राप्ती सोनारी वडा नम्बर ३ र ४) को ठेक्का तोड्न आनाकानी गरेर काममा विलम्व गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो । प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएको छ । तर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा भने पुरानो ठेक्का नतोडिदा प्राधिकरणले अझै हात हालेको छैन ।
‘प्राधिकरणले वडा नम्बर ५ मा बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएकोमा म गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु, तर वडा नम्बर ३ र ४ मा अहिलेसम्म बिद्युतीकरणको काम सुरु नहुँदा जनताको आक्रोश धेरै छ, त्यसकारण प्राधिकरणले राप्तीसोनारीका ३ वटै वडामा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गरोस्, मेरो विशेष आग्रह छ,’ अध्यक्ष थारुले भन्नुभयो ।
प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर समक्ष उहाँले कोहलपुर–धामपुर मुख्य प्रशारण लाइनको ठेक्का तोडेको नजिर प्राधिकरणमा ताजै रहेकाले राप्तीसोनारीको ३ र ४ मा अलपत्र कामको ठेक्का तोड्न ढिलाई गर्न नहुने सुझाव दिनुभयो । सो क्रममा प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख ठाकुरले साविक बैजापुर र नरैनापुर गाविसमा लागेको ठेक्काको म्याद समाप्त भइसकेपनि अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले तत्काल हात हाल्न समस्या रहेको बताउनु भयो ।
‘यो ठेक्का कहिलेसम्म तोडिन्छ, अहिले नै भन्न सक्ने स्थिति छैन, म बिद्युत प्राधिकरणको चिफ हुन्थे भने भन्न सक्थे, तर यसबारे अहिले केही भन्न सक्दैन,’ उहाँले भन्नुभयो ‘ठेक्का तोडिने बित्तिकै काम थाल्न त समस्या नै छैन ।’ ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिका आफैले वडा नम्बर ३ बाट गत वर्षदेखि नै बिद्युतीकरणको काम थालिसकेको छ । गाउँपालिकाले गतवर्ष बिद्युतीकरणका लागि २०७६–०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष २०७७–७८ मा पनि २ करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बजेटबाट वडा नम्बर ३ का अधिकांश गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको अध्यक्ष थारुका स्वकीय सचिव सन्तोष चौधरीले जानकारी दिनुभयो । ‘वडा नम्बर ३ का अधिकांश गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको छ,’ उहाँले भन्नुभयो ‘अब ट्रान्सफर्मर मात्रै राख्ने काम छ, बिद्युत प्राधिकरणबाट हुनुपर्ने प्राविधिक काम अधुरो छ, हामीले ट्रान्फर्मरको कुरा गर्दा प्राधिकरण वडा नम्बर ३ र ४ मा पस्नै चाहन्न ।’ प्राधिकरण आफुले वडा नम्बर ३ र ४ मा बिद्युतीकरणको काम गर्न नसकेको र गाउँपालिकाले गर्न थालेको काममा पनि असहयोग गरिरहेको चौधरीको गुनासो छ ।
डेलिगेशनका क्रममा गाउँपालिका अध्यक्ष थारुसहित वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, समाजसेवी हेमकुमार डाँगी, कुसुम ग्रामीण बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्का, कोषाध्यक्ष गेहेन्द्रकुमार खड्का, कांग्रेसका युवा नेता कमल कार्की लगायतको सहभागिता रहेको थियो ।