कारागारका थुनुवा र प्रहरीलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्ज कारागारका थुनुवा र कारागार सुरक्षार्थ रहेका एकजना प्रहरीमा कोरोना देखिएको छ ।
चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि कारागार पुगेका नेपालगञ्ज–६ का २८ वर्षीय युवा र कारागार सुरक्षार्थ रहेका एकजना प्रहरीमा कोरोना पुष्टि भएको हो । बिरामी भएपछि थुनुवालाई भेरी अस्पताल, नेपालगञ्ज लगिएको थियो । दुई रात उनलाई त्यही राखियो । अस्पतालले उनलाई आइसोलेसन वार्डमा राखेको थियो ।
जेलर देवेन्द्र श्रेष्ठले थुनुवाको शरीरमा रगतको कमी भएपछि अस्पताल लगिएको जानकारी दिनुभयो ।
दुई रातको उपचार पछि थुनुवालाई कारागारमा ल्याइयो । कारागार प्रशासनले कोरोनाको शंका लागेर उनलाई छुट्टै राखेर पीसीआर जाँच गरेको थियो । त्यसको रिपोर्ट पोजिटिभ आएको छ । उनीसँगै गएका प्रहरीको पनि रिपोर्ट पोजिटिभ आयो । दुवैलाई आइसोलेसन सेन्टरमा लगिएको छ ।
नेपालगञ्ज कारागारमा ७ सय ७७ जना थुनुवा छन् । कारागार प्रशासनले लकडाउन भन्दा अघि देखि नै कारागारमा भेटघाट रोकेको थियो । भेरी अस्पतालबाट आएपछि ती थुनुवालाई बाहिर छुट्टै राखेकाले कारागारमा अरुलाई सर्ने डर नभएको प्रशासनले जनाएको छ । यद्यपि, उनको सम्पर्कमा रहेकाहरुको स्वाव लिने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !