भेलसँग लडेर दाउरा संकलन
नेपालगञ्ज – राप्ती नदी उर्लेर आएको छ । पानीले पुललाई छुमछुम गर्दैछ । पुललाई छुन पानीले बल गरिरहेको छ ।
नदी उर्लेर आउदा कम्दी आसपासका गाउँलेहरु खुशी भएका छन् । राप्ती बढ्दै गर्दा जिल्लाका अधिकारीहरुमा गाउँ डुब्ने चिन्ता बढ्छ । तर, ५ मिटर ७० सेन्टीमिटरसम्म हुँदा गाउँलेहरु मज्जाले नदीमा दाउरा टिपिरहन्छन् ।
ओ हो ! दाउराका लागि ज्यानकै माया किन मारेका होलान् ? टाढाबाट हेर्ने र सोच्नेहरुले भन्न सक्छन् । फेरि चुनौती बिनाको काम पनि त केही हुँदैन । कम्दीका रामकिसुन यादव भन्नुहुन्छ, ‘बाढी आएपछि संकलन गरिएको दाउराले वर्षभरी बाल्न पुग्छ ।’
पौडी खेल्न जान्नेहरु नदीमा पस्छन् । भेलले बगाएका दाउरा आफूतिर तान्छन् । दाउराका लागि भेल भर्सेस मानिस हुन्छ । भेलले बगाउन खोज्छ, मान्छे त्यसलाई तानेर आफूतिर ल्याउँछन् ।
नदी बढेर आउदा जंगलका सुकेका रुख, हागा बगाएर ल्याउँछ । तटीय क्षेत्रका बासिन्दाहरु त्यसलाई समात्न नदीमा लाइन लाग्छन् । नदी किनारमा जम्मा भएका मानिस, नदीमा दाउरा तान्ने गरेका मानिस अनि नदी छेउमा जम्मा गरेर राखिएको दाउरा । यतिबेला सिधनियामा जाने जो कोहीले देख्न सक्छन् । मानिसहरु टाउकोमा बोकेर, साइकलमा राखेर वा ट्याक्टरमा लोड गरेर दाउरा लगिरहेका देखिन्छन् ।
जंगलजति समुदायिक वन भएका छन् । गाउँलेहरुले नै संरक्षण गरेपनि वर्षमा एक वा दुई पटक दाउरा खुल्छ । त्यसले गाउँलेलाई वर्षभरी बाल्न पुग्न धौ–धौ हुन्छ । यस्तोमा राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्नु गाउँलेका लागि बाध्यता पनि रहेछ । रामकिसुनका अनुसार, सजिलो त कुनै काम पनि हुँदैन । दुई दिन जोखिमका साथ काम गर्दा वर्षभरी ढुक्क हुन्छ । यो रामकिसुनको मात्रै होइन, कम्दी आसपासका सबै किसानको भनाई हो भन्दा फरक पर्दैन ।