राप्तीमा बाढी, दाउरा तान्नेको भीड

 

नेपालगञ्ज – राप्ती नदीमा बाढी आएपछि स्थानीय बासिन्दा बगाएर ल्याएको दाउरा तान्नमा व्यस्त भएका छन् ।
राप्ती नदी पुल नजिक ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाहरु दाउरा जम्मा गर्न लागि परेका छन् । बगाएर ल्याएको काठलाई छेउमा बसेर तान्ने मात्रै होइन, पौडी खेलेर समातिरहेका छन् । राप्ती नदीको सतह खतराको तह भन्दा माथि आएपछि जिल्लाका अधिकारीहरुमा ठूलो तनाव भइरहेको बेला स्थानीय बासिन्दा भने दाउरा बटुल्न लागि परेका छन् ।


नदीमा पौने सात बजेसम्ममा पानीको तह ५ मिटर ७८ सेन्टीमिटर पुगेको छ । यो खतराको तह भन्दा माथि हो । ५ मिटर ४० सेन्टीमिटरलाई खतराको तह मानिन्छ । २०७४ सालमा बाढी आउदा ६ मिटर पुगेपछि पानी गाउँ पसेको थियो । अहिले पनि त्यस्तै हुने देखिएको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाइसकेको जानकारी दिनुभयो ।
राप्ती नदीमा बाढी आउदा राप्तीसोनारी, डुडुवा र नरैनापुरका आधा दर्जन गाउँ डुवानमा पर्ने गर्दछन् । सन् १९८५ मा भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध बनाएपछि तटीय क्षेत्रको नेपाली गाउँहरु डुवानमा पर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !