घुम्ती सेवा शुरु

नेपालगञ्ज – नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु गरेको छ । कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिन संघले शनिवारदेखि यस्तो सेवा सञ्चालन गरेको हो ।
पहिलो दिन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालय र नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघसँगको समन्वयमा वडा नं. १ मा घुम्ती सेवा सञ्चालन गरियो । घुम्ती सेवामा गाडी मार्फत घर–घरमा चामल, दाल, पिठो, नून, तेलजस्ता अत्यावश्यक सामाग्री उपलब्ध गराइन्छ ।
घुम्ती सेवा सञ्चालनको अवसरमा प्रदेश सांसद आइपी खरेल, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वडा नं. १ का अध्यक्ष प्रमोद धिताल, संघका महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी, कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारी र नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघका महासचिव टोपबहादुर थापा सहभागी थिए ।
भिडभाड नहुने गरी घुम्ती सेवाबाट अत्यावश्यक सामाग्री वितरण गरिने संघका अध्यक्ष मन्सुरीले बताउनुभयो । प्रदेश सांसद खरेल र वडा अध्यक्ष रिजालले निजी क्षेत्रको सहकार्यमा बजारमा सिर्जना हुने अभाव अन्त्य गरिने उल्लेख गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !