लागु औषधी खान रुपैडिहा, फर्किदा परामर्श केन्द्रमा

नेपालगञ्ज – लागु औषधीका लत लागेकाहरु फुत्त रुपैडिहा पुगेर खाएर आउँछन् । अहिलेसम्म लागु औषधी खाएर आउनेलाई प्रहरीले पक्राउ गरेको थिएन । किनकी, जसको साथमा लागु पदार्थ भेटिदैन, उसलाई के आधारमा कारबाही गर्ने ?
नेपालगञ्जमा लागु औषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्र सञ्चालनमा आएपछि लागु औषधी खाएर आउनेलाई प्रहरीले समात्न थालेको छ । समातेर कारबाही गर्ने हो कि परामर्श केन्द्रमा लगेर परामर्श गर्ने र उपचारसम्म गर्ने गरेको छ ।
प्रहरीले रुपैडिहामा पुगेर लागु औषधी खाएर आएकालाई नाकाबाट समातेर परामर्श केन्द्र पठाउन थालेपछि परामर्श केन्द्र भरिभराउ हुन थालेको छ । एकै दिन नौ जनालाई पठाइएको छ । अझ विहानदेखि बेलुकासम्म रुपैडिहा पुगेर खाएर आउनेलाई समात्ने हो भने कति होलान् ? माल बोकेर आउदा प्रहरीले समात्छ भन्ने डर भएकाहरु फुर्सद मिलाएर रुपैडिहा पुगेर खाएर आउँछन् । यसरी खाएर आउनेमा सामान्य युवा युवतीदेखि सरकारी कर्मचारीसम्म छन् ।
रुपैडिहा नजिक भएकाले नेपालगञ्ज र आसपासमा बस्ने लागु औषधीप्रेमीहरु साइकल, रिक्सा, टाँगामा गएर खाएर आउँछन् । लागु औषधी ब्राउनसुगर भन्दा पनि कोरेक्स खानेको दौडधुप बढी हुने गरेको जानकारहरु बताउँछन् ।
नेपालगञ्जबाट रुपैडिहा जानेको संख्या धेरै छ । कति खानमात्रै जान्छन्, कति माल बोक्न जान्छन् । माल बोकेर आउदा पक्राउ परेकाहरुले जेल, प्रहरी हिरासत भरिएको छ । रुपैडिहा पुगेर खाएर आउनेको संख्या पनि कमी छैन । अब यस्ताले परामर्श केन्द्र भरिभराउ हुने देखिन्छ । लागु औषधी प्रयोगकर्तालाई कानूनी कारबाही र जेल सजायले मात्रै सुधार्न सकिएको छैन । सुधार गृहमा राखिएकाहरु निस्केपछि ९५ प्रतिशत पुरानै तलमा फर्किने गरेका छन् । परामर्शबाट लत छुटाउन सकिने आकलन गरेर नेपालगञ्जमा सञ्चालन गरिएको छ । जानकार विज्ञहरुले परामर्श दिने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !